इटहरी खानेपानीको संक्षीप्त परिचय
वि.सं. २०४२
बाट इटहरीमा खानेपानीको सम्भाव्यता अध्ययन थालनी भई आ.व. २०४७/४८ मा
विस्तृत परियोजना प्रतिवेदन (DPR) तयारी पश्चात् वि.सं.२०४८ सालमा आयोजना
निर्माण प्रारम्भ गरी वि.सं. २०५२ मा सम्पन्न भयो । तत्कालीन इटहरी गा.वि.स.
अध्यक्ष प्रमोदकुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय इटहरी खानेपानी योजना
खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति गठन भई जिल्ला प्रशासन कार्यालय सुनसरीमा
दर्ता भयो । आयोजना निर्माण सम्पन्न भएपछि सरकारले वि.सं. २०५३ असार २७ गते
समितिलाई हस्तान्तरण गर्यो । आयोजनाबाट १ कि.मि.प्रसारण लाइन र २७.६ कि.मि. वितरण
लाइन गरी जम्मा २८.६ कि.मि. पाइप लाइन विस्तार भई, इटहरी गा.वि.स. वडा नं. ३, ६ र ९ बाहेक अन्य वडामा ७६ वटा
सार्वजनिक धाराबाट खानेपानी आपूर्ति गरिएको थियो । समितिले निजी धाराको अवधारणा
तयार गरी वि.सं. २०५३ फागुनदेखि निजी धारा वितरण सुरु गरेको र सो आ.व. २०५३/५४ को
आषाढ मसान्तसम्ममा ७५ वटा निजी धारा वितरण गरेको थियो ।
१ करोड ९८ लाख ९८ हजार ९५० रूपियाँको लागतमा
निर्माण गरिएको त्यस आयोजनाअन्तर्गत ४५० घ.मि. क्षमताको १ ओभर हेड ट्याड्ढी,
२ वटा डिप वेल र
२८.६ कि.मि. पाइप लाइनबाट तत्कालीन इटहरी गा.वि.स. को वडा नं. १, ४, ५, ७ र ८ का १,२०० धाराबाट २० हजार जनसङ्ख्याले सफा र
स्वच्छ पिउने पानी सुविधा प्राप्त गर्ने लक्ष्य लिएकामा उपभोक्ता समितिको कुशल
व्यवस्थापनबाट १८५४ वटा धारा वितरण गरिएको थियो ।
२०५०/११/१० मा तत्कालीन गा.वि.स.अध्यक्ष श्री
प्रमोदकुमार श्रेष्ठको अध्यक्षतामा गठन भएको ९ सदस्यीय संस्थापक मूल उपभोक्ता
समितिले आ.व. २०५७/५८ मा ६ वटा वडा समिति गठन गरी पहिलो मूल उपभोक्ता समितिको
साधारणसभा सम्पन्न गर्यो । सो साधारणसभाबाट पुनः श्री प्रमोदकुमार श्रेष्ठको
अध्यक्षतामा २०५८/०२/०८ मा ११ सदस्यीय मूल उपभोक्ता समिति निर्वाचित भयो
(अध्यक्षको राजीनामा पश्चात् मिति २०५९/१/२२ देखि अध्यक्ष श्री बी.पी.पौडेल)।
२०६१/०६/२४ मा श्री रामप्रसाद चौलागाईको अध्यक्षतामा ११ सदस्यीय मूल उपभोक्ता
समिति निर्वाचित भयो । मिति २०६२/४/१४ मा संस्था जिल्ला जलस्रोत समितिमा दर्ता भएर
संस्थाको नाम इटहरी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था भएको र समिति ९
जनाको मात्र हुनुपर्ने कानुनी व्यवस्था भएकाले श्री ज्ञानप्रसाद पौडेल र श्री
भुपेन्द्र बरालले राजीनामा गरी सहजता प्रदान गर्नुभयो । मिति २०७१/२/२६ (नवौँ
साधारणसभा)बाट श्री रामप्रसाद चौलागाईंको अध्यक्षतामा १५ सदस्यीय कार्यासमिति र
श्री ज्ञानप्रसाद पौडेलको संयोजकत्वमा ३ सदस्यीय लेखासमिति निर्वाचित भयो ।
वि.सं. २०६२ सालमा नयाँ आयोजनाको विस्तृत
सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरियो । २०६३ जेठमा मूल सम्झौता
भई २०६४ बाट आयोजना निर्माण सुरु भई २०६७ मा सम्पन्न भयो । आयोजनाको अनुमानित लागत
१७ करोड ५ लाख ७७ हजार रहेकामा आयोजना निर्माणका अवस्थामा देखिएका त्रुटि(सर्वे
डिजाइनमा भएका छुट)हरू र राष्ट्र बैङ्कको मूल्यवृद्धिको सूचकाङ्कअनुसार लागतमा
वृद्धि भई रू.१८,५१,१४,५०५।४८ मा आयोजना सम्पन्न भएको थियो ।
आयोजना सम्पन्न हुँदा निजी धारा सङ्ख्या २,७७२ र सामुदायिक धारा सङ्ख्या १० थियो ।
संस्थाले खरिद गरी उपलब्ध गराएको इटहरी २ देवीथानको ज.बि.०–१३–७ र इटहरी ५
बरमपुरको ज.बि. ०–९–१ को क्षेत्रफलमा उपभोक्ताहरूको सहभागिता २०%, नगरविकास कोषबाट ऋण ३०% र ५०% नेपाल
सरकारको अनुदानबाट निर्माण गरिएको नयाँ आयोजनामा ४,५०,००० लिटर क्षमताका २ वटा ओभर हेड
ट्याड्ढी, डिप
वेल ४ थान, ०.४
कि.मि. प्रसारण लाइन, ९१.९९
कि.मी. वितरण लाइन, भल्व
चेम्बर ७२ थान, विद्युत्
प्रणाली २ वटा, पानी
प्रशोधनशाला ३ वटा, चौकीदार
भवन/प्रयोगशाला ३ वटा, जेनेरेटर(१००
के.भि.ए.) ३ वटा संरचना निर्माण भई हालसम्म संस्थाको आफ्नो पहलबाट थप ३२० कि.मि.
पाइपलाइन बिस्तार गरी कूल ४४० कि.मि. मा जडान भएका १८,४६४(२०७७ फाल्गुण २४ सम्म) वटा निजी
धारा मार्फत् सेवा क्षेत्र भित्रका करिब १ लाख जनसङ्ख्या स्वच्छ पिउने पानीबाट
लाभान्वित भएका छन् ।
यस संस्थाको सेवा क्षेत्र इटहरी उपमहानगरपालिका
भरि भएतापनि पानी आपूर्तिका हिसाबले वडा नं. २ देखि ९ (सबै), १, १०, १४, १६, १७ र २० (आंशिक) रहेको छ । पानी
नपुगेका वडाहरूबाट समेत व्यापक मात्रामा पानी माग भइरहेकाले संस्थामा
उपमहानगरपालिकाका सबै वडाहरूमा पानी आपूर्ति गर्नुपर्ने चुनौती विद्यमान छ । यस
चुनौतीलाई केही हदसम्म भए पनि सामना गर्न साना सहरीको कार्यप्रक्रिया अनुसारको
रू.१३,२९,८९,६१०।३९ (भेरियसन अर्डर सहित) लागतको
पुनर्सबलीकरण आयोजना स्वीकृत भई निर्माण कार्य सम्पन्न भइसकेको छ । उक्त आयोजनाबाट
संस्थामा मुख्य प्रशासनिक भवनको भुइँतला, ३ थान ट्रिटमेन्ट प्लान्ट सहितको ४ थान डिप
वेल(बोरिङ), १००
के.भि.ए.का २ थान जेनेरेटर र २ थान ट्रान्सफर्मर, ३८ कि.मि.पाइपलाइन लगायतका संरचनाहरू
आपूर्ति तथा निर्माण भई संस्थाको पानी उत्पादनको क्षमतामा दैनिक करिब ८० लाख
लिटरले वृद्धि भई दैनिक करिब १ लाख ६० हजार लिटर पुगेको छ भने संस्थाले आफ्नै
स्रोतबाट मौजुदा ट्याड्ढीमा ४ वटै बोरिङको पानी एकैसाथ पस्ने र निस्कने सिस्टम
तयार गरिएकाले अब संस्थाले दैनिक २ करोड १६ लाख लिटर शुद्धकरण गरिएको पानी आपूर्ति
गर्न सक्नेछ, जुन
पानीले करिब २५ हजार घरधुरीको स्वच्छ खानेपानीको मागलाई धानीरहेको छ ।